काठमाडौं, जेठ २८ :

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरको निर्णयअनुसार बुधबार मास्केलाई उक्त जिम्मेवारी दिएको हो ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार, प्रबन्ध निर्देशक संगीता पहाडीमाथि अख्तियारले भ्रष्टाचारको आरोप लगाएर मुद्दा दायर गरेपछि रिक्त बनेको पदमा मास्केलाई नियुक्त गरिएको हो।

बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको अभियोगमा अख्तियारले पहाडीसहित १८ जनाविरुद्ध गत शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले उनीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको विगो दाबी गर्दै गरेको छ।

अख्तियारले अनुसन्धानको क्रममा सविना मास्केसँग पनि बयान लिएको थियो। उनी त्यसबेला टेलिकममा प्रमुख प्राविधिक अधिकृतका रूपमा कार्यरत थिइन्।