पर्सा, जेठ ३० :

वीरगन्ज महानगरपालिकामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना सख्त घाइते भएका छन् ।

वीरगन्ज २२ स्थित ड्राइपोर्ट सडक खण्डअन्तर्गत सीताराम चोकमा शुक्रबार बिहान बिग्रिएर रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा बागमती प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पर्सा छिपहरमाई गाउँपालिका ३, झलमैया टोलका रामाकान्त यादव र सोही ठाउँका विजय यादव छन् । सख्त घाइते हुनेमा २२ वर्षीय विजयकुमार यादव रहेको लम्सालले जनाए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।