काठमाडौं, जेठ ३० :

न्याय परिषदले उच्च अदालतका चार मुख्य न्यायाधीशमा सिफारिस गरेको छ। शुक्रबार बिहान बसेको परिषदको बैठकले न्यायाधीशहरू राजन प्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशका रूपमा सिफारिस गरेको हो।

सिफारिसअनुसार भट्टराईलाई उच्च अदालत विराटनगर, कुँवरलाई पाटन, भण्डारीलाई सुर्खेत र तिवारीलाई तुलसीपुर उच्च अदालतको मुख्य न्यायाधीश तोकिएको छ।

राजन प्रसाद भट्टराई पूर्व सरकारी वकिल समूह हुँदै मुख्य रजिष्ट्रार भएर उच्च अदालतको न्यायाधीश बनेका थिए। यदि माघ २०६४ भित्र सर्वोच्च अदालतमा सिफारिस भएमा उनले थप दुई वर्ष त्यहाँ सेवा गर्ने अवसर पाउनेछन्।

परिषदको नियमावली संशोधनपछि भट्टराई र कुँवरको वरिष्ठतामा सुधार भएको हो । कुँवर भट्टराईभन्दा आठ वर्ष कान्छा भएकाले सर्वोच्चमा पुग्ने पर्याप्त समय उनीसँग छ। भण्डारी र तिवारीको उमेर करिब उस्तै भएकाले उनीहरूलाई पनि सर्वोच्च अदालतमा पुग्ने दुई वर्षको समय छ।

यसैबीच, परिषदको बैठकले बैदेशिक रोजगार न्यायाधिकरणमा कार्यरत न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत बीरगञ्ज इजलासमा सरुवा गरेको छ। उच्च अदालत हेटौंडा इजलासमा कार्यरत न्यायाधीश डा. शान्ता शेढाई सापकोटालाई बैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष तोकिएको छ।