
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टीका नेता अग्नि सापकोटाको मुद्दालाई भिजिट भिसा प्रकरणसँग साटिएको भन्ने आरोपलाई पूर्णरूपमा निराधार भएको बताएका छन्।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यो मुद्दा साटासाटको विषय नै नबनाइएको स्पष्ट पारे। केही दिनअघि सर्वोच्च अदालतले नेता अग्नि सापकोटासम्बन्धी मुद्दा अगाडि बढाएको छ। जससँग भिजिट भिसा प्रकरण जोडिएको भन्दै विपक्षी दलहरुले शंका व्यक्त गरेका थिए।
पुनका अनुसार पार्टीले सधैँ नै भ्रष्टाचार तथा अनियमितताविरुद्ध स्पष्ट र कडा धारणा लिँदै आएको छ।
उनले भिजिट भिसा प्रकरणमा एक महिनाभित्र छानबिन समिति बन्ने दाबी गर्दै यदि त्यसले उपयुक्त ढंगले काम नगरे संघर्ष गर्ने बाटो खुला रहेको बताए। उनका अनुसार, ‘एक महिनाभित्र छानबिनको लागि प्रक्रिया अघि बढ्छ, समिति बन्छ। यदि उपयुक्त ढंगले भएन भने संघर्ष उठाउन कसैले रोक्दैन।’
विपक्षी दलहरूसँग मिलेर छानबिन समिति गठनको प्रयास गरे पनि त्यो सफल नभएको उनले बताए।
यसअघि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामासहित छानबिनको माग राख्दै माओवादीले संसद अवरुद्ध गर्दै आएको थियो। तर सत्ता गठबन्धनसँग दुई बुँदे सहमति भएपछि माओवादी केन्द्रले अवरोध हटाएको थियो।