
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न भएको पाइए त्यसको जिम्मेवारी व्यक्तिले नै लिनुपर्ने स्पष्ट पारेका छन्।
तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले व्यक्ति चुके पनि पार्टी नचुक्ने बताए। उनले कांग्रेसले भ्रष्टाचारका मुद्दामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।
‘भ्रष्टाचारमा संलग्नता देखिएमा त्यसको भारी उसैले बोक्नुपर्छ, कांग्रेसले बोर्दैन,’ उनले भने, ‘व्यक्ति चुक्न सक्छ, तर पार्टीको पोजिसन स्पष्ट र ठिक ढंगले प्रस्तुत हुन्छ।’
थापाले सरकार र जनप्रतिनिधिले जनतामा देखिएको असन्तुष्टि हटाउन डेलिभरीमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। साथै, कांग्रेसले काम गरे पनि प्रचारमा चुकिरहेको स्वीकार गर्दै, अब जनतामाझ आफ्ना काम र उपलब्धि प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए।