
काठमाडाैं, जेठ ३१ :
सर्वोच्च अदालतका तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया शनिबारदेखि प्रारम्भ भएको छ। सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमार्फत प्रक्रिया अघि बढाइएको हो।
बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले ‘संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८०’ को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा सार्वजनिक रूपमा सूचना वा उजुरी माग गर्ने प्रस्ताव राखिन्। उक्त प्रस्ताव समितिबाट सर्वसम्मतिले पारित भएको छ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ। न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरिएको हो।