काठमाडौं, असार १ :

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजको बैठकमा ‘राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका हुन् ।

छलफलका क्रममा अर्थमन्त्री पौडेलले प्राङ्गारिक र प्राकृतिक मल उत्पादन प्रवर्द्धन गर्न कर छुट दिइएको, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न त्यहाँ लागेको कर हटाइएको र बजेट कार्यान्वयनबाट आर्थिक गतिविधिमा वृद्धि हुने दाबी गरे ।

तर, मन्त्रीको प्रस्तुतीका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले नाराबाजी गरेका थिए। सोही कारण, नेपाली कांग्रेसका सांसद राजेन्द्र पाण्डेले नाराबाजीकाबीच मन्त्रीको भनाइ स्पष्ट सुनिन नसकिएको भन्दै निष्कर्षमा पुर्‍याएरमात्र बैठक सञ्चालन गर्न आग्रह गरे ।

नाराबाजीकाबीच प्रतिनिधिसभाको बैठक चलिरहेको छ भने वार्षिक अनुमानमाथिको सामान्य छलफल पनि यथावत् जारी छ ।