
भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका- १ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ ।
संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैङ्क मार्फत प्राप्त हुने सम्बन्धित निकायले प्रतिबद्धता जनाएपछि आयोजनाको काम पुनः प्रारम्भ भएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
यो प्याकेजमा हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको छ ।
गत असार २२ गते सेतीको बाढीबाट प्याकेज वानको निर्माणस्थलमा क्षति भएको छ । बाढीले ‘क्रसर र कुलिङ प्लाण्ट’ मा क्षति हुनका साथै निर्माणस्थलमा राखिएको ढुङ्गा गिटी लगायत निर्माण सामग्री बगाएको थियो ।
यो प्याकेज अन्तर्गत आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि सेती नदीको धार पथान्तरण गर्न दुई वटा ‘डाइभर्सन सुरुङ’ निर्माण सम्पन्न भएका छन् ।
आयोजनाको एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि पहाड खन्न बाँकी छ भने सेती नदीका दुवै किनारमा ‘ग्याली सुरुङ’ निर्माणाधीन छन् ।