
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्रको निर्धारण तथा आगामी प्राथमिकताका कार्यसूचीबारे प्रारम्भिक तथा परिचयात्मक छलफल भएको थियो।
आयोगमा राजनीतिक दल, निजी क्षेत्र र विभिन्न क्षेत्रका विज्ञहरूको मनोनयन प्रक्रिया चाँडै टुंग्याइने र दोस्रो पूर्ण बैठक अर्को साता बस्ने निर्णय भएको छ। गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको थियो।
आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री राजकुमार गुप्तालगायतको सहभागिता रहेको छ।
सरकारले सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा सुधार तथा भ्रष्टाचार नियन्त्रणमा सशक्त पहल गर्नका लागि आयोग गठन गरेको बताइएको छ।