काठमाडौं, असार ५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै बिहीबार पनि संसद्‌ अवरुद्ध गरेको छ।

सभामुख देवराज घिमिरेले बैठक सुरु गर्दै रास्वपाका सांसद हरि ढकाललाई बोल्ल समय दिएका थिए । सांसद ढकालले गृहमन्त्रीको राजीनामा नआएसम्म र छानबिन समिति नबनेसम्म संसद्‌मा अवरोध जारी रहने स्पष्ट पारे।

‘हाम्रो दलले उठाएको माग पूरा नभएसम्म, गृहमन्त्रीको राजीनामा नआएसम्म, छानबिन समिति गठन नभएसम्म हाम्रो आन्दोलन जारी छ,’ ढकालले भने।

गृहमन्त्री लेखकले सदनमा बोलेर  भुईं मान्छेको आवाजप्रति कटाक्ष गरेको पनि उनको आरोप थियो । विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो भन्ने प्रश्नको गृहमन्त्रीले उत्तर दिन नसकेको भन्दै सांसद ढकाले अख्तियारले ताकेता गर्दा गर्दै पनि विमानस्थल भित्रको र्‍याकेटको अनुसन्धान नगरेकोप्रति आशंका व्यक्त गरे । उनले यस्तो विषम र गम्भीर विषय लिएर आन्दोलन गर्दै गर्दा  पनि सरकारले आफूहरुको आवाज नसुनेको हुँदा आन्दोलन जारी रहेको बताए ।

उनको उक्त अभिव्यक्तिपछि रास्वपाका सांसदहरू संसद्को वेल घेरेर नाराबाजीमा उत्रिएका थिए।  माग पूरा नभएको भन्दै रास्वपाले शान्तसँग बैठक चल्न दिएको छैन । रास्वपाले हालै चर्चामा आएको भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै निरन्तर संसद् अवरुद्ध गरिरहेको छ। 

यद्यपि रास्वपाको नाराबाजीकाबीच पनि सभामुखले संसद्को कार्यसूची अनुसार बजेटमाथिको छलफल अघि बढाएका छन् ।