
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई बेवास्ता गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू अनुपस्थित रहेपछि पाण्डेले सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन्।
‘कार्यसूची आउँछ, फेरि हटाइन्छ। कारण सोध्दा मन्त्रीको उपस्थिति छैन भनिन्छ। यस्तो बेवास्ता सह्य छैन,’ उनले भने।
उनले संसद्मा लामो समयदेखि आन्दोलन जारी रहे पनि सरकार बेखबर रहेको आरोप लगाउँदै मन्त्रीहरूको उपस्थिति नहुँदासम्म छलफल अघि नबढाउन आग्रह गरे। ‘मन्त्रीहरूको अनुपस्थितिमा छलफल अघि बढाउनु हाम्रो नियमावलीको ठाडो उल्लंघन हो,’ पाण्डेले भने।
उनले सांसदहरूले नियम पालना गर्नुपर्ने तर सरकारले गर्न नपर्ने अवस्थामा आपत्ति जनाउँदै बजेटको पुस्तकसमेत समयमा नआएको गुनासो गरे। “बजेटको किताब नै नआउँदा खर्च कटौतिको प्रस्तावसमेत दिन सकिएन,’ उनले भने।