काठमाडौं, असार ८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले गरेको ६ बुँदे निर्णय सार्वजनिक भएको छ ।

पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार बसेको केन्द्रीय समिति बैठकका निर्णय आइतबार सार्वजनिक गरिएको हो ।

जसअनुसार बैठकले महामन्त्री र प्रवक्तामा क्रमशः कवीन्द्र बुर्लाकोटी र मनीष झालाई नियुक्त गरेको छ । यसअघि बुर्लाकोटी र झा कार्यवाहकका रुपमा थिए । साथै बैठकले विपिनकुमार आचार्यलाई प्रशिक्षण विभाग प्रमुखमा नियुक्त गरेको छ ।

यसैगरी सुसंस्कृत राजनीतिको संवर्द्धनका पक्षमा सशक्त रूपमा अडिग रहनेलगायतका निर्णय भएको रास्वपाले जनाएको छ । 
प्रस्तुत छ रास्वपा केन्द्रीय समिति बैठकले गरेका ६ बुँदे निर्णय -

१. देशको विद्यमान राजनीतिक घटनाक्रमप्रति गम्भीर समीक्षा गर्दै भिजिट भिसा प्रकरणमा पार्टीले राखेको अडानलाई संसदीय दलका नेताहरूले संसद्‌मा दृढताका साथ प्रस्तुत गर्नुभएकामा संसदीय दलप्रति आभार व्यक्त गर्दै संसदमा लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धनका पक्षमा सशक्त रूपमा अडिग रहन निर्देशन दिने ।

२. पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा मिति २०८२ जेठ १९ गते र असार ५ गते बसेका पार्टी सचिवालयका बैठकहरूमा गरिएका निर्णयहरू केन्द्रीय समितिमा अनुमोदनका लागि प्रस्तुत गरिएकोमा ती सबै निर्णयहरूलाई पूर्णतः अनुमोदन गर्ने निर्णय गरिएको छ ।

३. पार्टीका रिक्त रहेका तथा पुनः संयोजन आवश्यक पदहरूमा निम्नानुसार मनोनयन गरिएको छ :
• प्रशिक्षण विभाग प्रमुखमा सह-महामन्त्री श्री विपिनकुमार आचार्य
• अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा श्री मनीष झा
• अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखमा उप-प्रमुख श्री रविकिरण अधिकारी

४. पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा श्री कवीन्द्र बुर्लाकोटी र प्रवक्तामा श्री मनीष झालाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

५. तेस्रो स्थापना दिवसका अवसरमा पार्टी कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालले पार्टी सभापति श्री रवि लामिछानेका तर्फबाट केन्द्रीय समिति, तहगत समिति, संयन्त्रहरू, सम्पूर्ण पार्टी सदस्य, शुभचिन्तक र आमनागरिकहरूलाई ऐक्यबद्धतापूर्वक साथ र समर्थन प्रदान गरेकामा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले चुनौतीपूर्ण परिस्थितिमा समेत साथ दिँदै आउनुभएका सदस्यहरू र शुभेच्छुकहरूप्रति आगामी दिनमा देश निर्माणको महान् उद्देश्यमा निरन्तर साथ र सहकार्यको अपेक्षा सहित शुभकामना व्यक्त गर्नुभयो ।

साथै, पार्टी निर्माणको यथार्थ यात्रामा केन्द्रीय समिति र पार्टीपंक्तिमा देखापरेका आपसी गुनासाहरूलाई बिर्सेर, एकढिक्का भई अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै कार्यवाहक सभापतिज्यूले सम्पूर्ण पार्टीपंक्तिलाई परस्पर शुभकामना आदान-प्रदान गर्न अनुरोधसमेत गर्नुभयो ।

६. पार्टी सभापति श्री रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानलाई जनतामाझ पुर्‍याउन देशैभर अभियानलाई सशक्त रुपमा लैजाने र सुरुवात आजकै दिनबाट देशैभर वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरू मनाउँदा हस्ताक्षर अभियानलाई पनि सँगसँगै लैजाने ।