काठमाडौं, असार ८ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्दै विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्तिमा हिनामिना र हानी–नोक्सानी पुर्‍याइएको आरोप लगाएको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सरकारी स्रोतको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने नियतसहित प्रक्रिया मिचिएको पाइएपछि सो मुद्दा दायर गरिएको हो।

अनुसन्धानका क्रममा अनियमितता पुष्टि भएपछि संलग्न व्यक्तिहरूलाई कारबाही गर्न आयोगले कदम चालेको हो। मुद्दामा संलग्न कम्पनीहरूमाथि समेत ठगी र मिलेमतोको आधारमा कारबाहीको माग गरिएको छ।

पशुपति क्षेत्र विकास कोष अन्तर्गतको विद्युतीय शवदाह गृह स्थापनामा देखिएको आर्थिक अनियमितता यसअघि सार्वजनिक सरोकारको विषय बनेको थियो।