
श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ सञ्चालनमा ल्याइएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एपको परराष्ट्र मन्त्रालयबाट बिहीबार शुभारम्भ गरे । एपमा विदेशमा रहेका नेपालीहरुले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपाली छन् भन्ने सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई गर्न सहज हुनेछ ।
यो विवरण प्राप्त भएपछि नेपालीहरु रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरुको तत्कालै उद्धार गर्न समेत सहज हुनेछ । परराष्ट्रमन्त्री राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपालीहरु सूचनाकै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासाहरु मन्त्रालयमा आउने गरेकाले अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उहाँहरुलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने बताइन् ।
साथै श्रम स्वीकृतिबेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकाहरुलाई पनि सम्बद्ध देशको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिने गरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले सहज हुने पनि राणाले बताइन् ।
उनले भनिन्, ‘विशेषगरी श्रम स्वीकृतिबिनै विभिन्न देशमा पुगेका र हाल त्यहाँ काम गरिरहेकाहरुका लागि उहाँहरुको संरक्षण, सुरक्षाका लागि यो वैधानिकीकरण श्रम स्वीकृतिको व्यवस्था सम्बन्धित दूतावासबाटै दिने गरी व्यवस्था मिलाइएको हो । यसको अर्थ अवैध रुपमा जानेहरुलाई प्रोत्साहन गरेको भने होइन ।’
राणाले मन्त्रालयले नेपाली डायस्पोराका समस्याहरुको समाधानका लागि यसअघि पनि एक कार्यदल गठन गरी काम सुरु गरिएको जानकारी दिँदै पछिल्लो समयमा विशेष गरी श्रम गन्तव्यमा रहेका नेपालीहरुका समस्याहरु धेरै आउन थालेकाले उनीहरुको अवस्था र समस्या बुझ्न यो एप सञ्चालनमा ल्याइएको जनाइन् ।
श्रममन्त्री भण्डारीले सञ्चालनमा ल्याइएको एप र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहात प्रदान गर्ने बताए ।
उनले नेपालीहरु को कहाँ र कति छन् भन्ने जानकारी मात्र नभएर कागजविहीन भएर बसेका, सम्बन्धित श्रम गन्तव्यमा जाँदा श्रम स्वीकृति नलिएका तथा अन्य विविध कारणले समस्यामा परेर आफूले पाउने आधारभूत सेवा सुविधाबाट पनि वञ्चित भएका नेपाली श्रमिकहरुलाई यसले ठुलो सहायता प्रदान गर्ने उनको भनाइ थियो ।
परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूतावासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ । एपमा ती देशमा रहेका नेपालीहरुले आफ्नो विवरण भने भर्नुपर्नेछ ।