
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेललाई नियुक्ति प्रक्रियाबाट अलग्गिन सांसदहरूले आग्रह गरेका छन्। संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा प्रमुख सचेतक महेशकुमार बर्तौलाले पोखरेललाई अब अघि नबढ्न सुझाव दिएका हुन्।
बर्तौलाले पोखरेल सर्वोच्च बारको अध्यक्ष हुँदा करिब डेढ वर्ष कार्यकाल बाँकी छँदै राजीनामा दिएर न्यायाधीश बन्न चाहनु उचित नभएको बताए। उनले पोखरेलले अघिल्लो भूमिका छाडेर तुरुन्तै न्यायाधीश बन्न खोज्नु न्यायिक प्रक्रिया र तटस्थतामा प्रश्न उठाउने बताए।
सांसद बर्तौलाले पोखरेलले वकिल हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध धेरै मुद्दामा बहस गरेको भन्दै निष्पक्ष न्याय दिने ग्यारेन्टी नरहेको जिकिर गरे।
नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पनि पोखरेल बारको अध्यक्ष भएर दुई वर्ष नपुग्दै न्यायाधीश बन्न खोज्नु नैतिक दृष्टिले गलत भएको बताए।
एमालेकी सांसद सुनिता बरालले अन्य प्रस्तावित न्यायाधीशहरू पनि राजनीतिक पार्टीसँग जोडिएको सुन्निएको भन्दै यसले न्याय प्रणालीमा असर पार्न सक्ने भनाइ राखिन्। उनले बेन्च र बारबीचको मतभेद समाधान कसरी गर्ने भनेर पनि प्रश्न गरिन्।
सांसदहरूले पोखरेलको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै निष्पक्षता, नैतिकता र न्यायिक स्वतन्त्रताको विषयमा गम्भीर चासो व्यक्त गरेका छन्।