काठमाडौं, असार १५ :

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु हुँदैछ। बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टीको भावी रणनीतिबारे समीक्षा हुने जनाइएको छ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार  भ्रातृ संगठनहरुको अधिवेशन र समय थप्ने विषयमा छलफल हुनेछ। केही संगठनको अधिवेशन अझै बाँकी रहेका कारण समय सीमा तोक्ने विषयमा निर्णय लिनेछ।

त्यसैगरी, बैठकमा क्रियाशील सदस्यहरूको अवस्थाबारे समीक्षा गरिने र विदेशमा रहेका जनसम्पर्क समितिहरूलाई मजबुत बनाउने विषयमा समेत केन्द्रीय समितिमा छलफल हुने उनले बताए।  प्रदेश र केन्द्रको बजेटसम्बन्धी विषय पनि बैठकमा छलफलको एजेन्डामा परेको छ।

यी सबै एजेन्डा आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले तय गरेको हो।

प्रवक्ता महतले पूर्वराष्ट्रपति राजनीतिक रूपमा सक्रिय हुनु उपयुक्त नहुने भन्दै आलोचना गरे। उनले कांग्रेसले राष्ट्रपति भइसकेका व्यक्तिलाई पुनःराजनीतिमा ल्याउने नीति नराखेको स्पष्ट पारे। यद्यपि कांग्रेसबाट राष्ट्रपति बनेका प्रथम राष्ट्रपति डा रामवरण यादवले सक्रिय रुपमा राजनीतिमा लाग्ने चासो देखाएका छैनन् भने वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको कार्यकाल भने अझै केही वर्ष बाँकी छ । उनले के गर्छन् त्यो पछि थाहा हुनेछ ।

शनिबार मात्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले राजनीतिमा फर्कने घोषणा गरेकी छन्। यसैगरी दुईपटक उपराष्ट्रपति बनेका नन्दबहादुर पुन पनि माओवादी केन्द्रमा पुनः जोडिएर जिम्मेवारी सम्हालेका छन् । पूर्वराष्ट्रप्रमुख र उपप्रमुख भइसकेका व्यक्तिहरु पुनः राजनीतिमा फर्केकोमा राजनीतिक वृत्तमा चर्चा र आलोचना हुन थालेको छ ।