
कार्यवाहक प्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय निजामती विधेयकमा भएको चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले यसबारे छानबिन हुने र दोषी जो भए पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे।
बुधबार कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार उद्घाटन कार्यक्रममा सिंहले विधेयकमाथि तलमाथि भएको भन्ने कुरा आएको बताए।
प्रतिनिधिसभाबाट पारित संघीय निजामती विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ व्यवस्था र त्यसमा उल्लेख गरिएको ‘बाहेक’ शब्दले विवाद सिर्जना गरेको हो।
कार्यवाहक प्रधानमन्त्री सिंहले संविधान निर्माणमा हस्ताक्षर गर्ने व्यक्तिहरुले संविधानको विरोध गर्नु उपयुक्त नभएको टिप्पणी गरे। साथै, सरकारको आलोचना गर्ने नेताहरूले आफैं सरकारमा हुँदा के गरेका थिए भन्ने पनि स्मरण गर्नुपर्ने धारणा राखे।
सिंहले जनताको सेवा नगर्ने नेताहरूलाई आउँदो निर्वाचनमा जनताले मूल्याङ्कन गर्ने बताए । उनले जनताका लागि काम गर्न आफूहरु राजनीतिमा आएको उल्लेख गर्दै सरकारको काम जनताले नियालेर हेरिरहेको बताए।