काठमाडौं, असार १८ :

निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियडमा भएको हेरफेरको विषयले नेपाली कांग्रेसभित्रै असमझदारी देखिएको छ । 

बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेसकै सांसद हृदयराम थानीले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराबाट विधेयकमा चलखेल भएको भन्दै कडा आलोचना गरेका हुन् ।

सांसद थानीले निर्णय गरिएको २ वर्षे 'कुलिङ पिरियड'लाई अन्तिम विधेयकमा फरक ढंगले प्रस्तुत गरिएको भन्दै यो परिवर्तन कसको दबाबमा गरिएको हो? भनेर प्रश्न गरे। उनले सचिव दुरामाथि 'ठुलाका दबाबमा' ५(क) बुँदा राखिएको आरोपसमेत लगाए।

‘तपाईं सचिव हो, नयाँ मान्छे होइन। कुलिङ पिरियडबारे थाहा नभएको भनेर पन्छिन सकिँदैन,’ थानीले बैठकमा भने, ‘सभापति खतिवडाले कोर टिममा कसलाई राख्नुभयो, कांग्रेस र एमालेका को–को थिए?’

थानीले समितिको निर्णय बाहिरबाट प्रभावित भएको र सभापतिले मनपरी शैलीमा विधेयक अघि बढाएको आरोप लगाए। कांग्रेसभित्रकै नेताबीच यस्तो आरोप–प्रत्यारोप चल्नु विधेयकको विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ।

विधेयकमा समितिको निर्णयविपरीत बुँदा थपिएको भन्दै समितिका सभापति खतिवडा र सचिव दुराको चर्को आलोचना हुँदै आएको छ।