
रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् ।
रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये नौ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन प्रहरी र ६ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
रसुवामा चीनतर्फबाट आएको भीषण बाढीका कारण फसेका ९ जनाको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेको छ।
सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता भएकामध्ये ६ जना चिनियाँ नागरिक, ३ जना नेपाल प्रहरीका कर्मचारी तथा अन्य नेपाली नागरिक रहेका छन्।
बेपत्ता भएका नेपाल प्रहरीका कर्मचारीहरूमा इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।
बेपत्ता हुने नेपालीहरुमा जिपन चौधरी (बर्दिया),सन्तोष दइत (बर्दिया),बुद्धिराम थारु (बर्दिया),लक्ष्मीनारायण थारु (बर्दिया) ,सुरेश थारु (बर्दिया),नरेन्द्र विक (बाग्लुङ),फुर्वा लामा कन्टेनर चालक,गोविन्द मोक्तान मिक्चर चालक र लोकमान तामाङ हाइलक्स चालक रहेका छन् ।
बाढीले नेपाल–चीन मितेरी पुल, भन्सार, र अन्य पूर्वाधारमा क्षति पुर्याएको छ। साथै, सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी, रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्प पनि प्रभावित भएका छन्।सुरक्षाकर्मी र उद्धार टोली अहिले घटनास्थलमा खटिएका छन् र खोज तथा उद्धार कार्य जारी छ।