काठमाडौं, असार २४ :

रुपन्देही–३ मा हुने उपनिर्वाचनमा संघीय लोकतान्त्रिक मधेसी मोर्चाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।

काठमाडौंमा मंगलबार बसेको मोर्चाको बैठकले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो।

बैठकपछि मोर्चाका नेता वृषेश चन्द्र लालले संविधान संशोधनको नाममा बनेको वर्तमान सरकारप्रति प्रतिक्रिया दिँदै सकारात्मक र प्रगतिशील संशोधनको पक्षमा मोर्चाले राय बनाउने बताए।

उनले राज्य व्यवस्था समितिबाट पारित निर्णयप्रति थपथाप र चलखेल हुनुलाई लोकतान्त्रिक तथा संसदीय अभ्यासप्रति गम्भीर अपराध भनेका छन् ।

मोर्चाको एक घटक जनमत पार्टीले भने बैठक बहिष्कार गरेको छ । जनमतले साझा उम्मेदवार बनाउन अस्वीकार गर्दै आफूले पनि उम्मेदवार उठाउने तयारी गरेको छ ।