काठमाडौं, असार २५ :

प्रधानमन्त्री केपी ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई सम्मान र पुरस्कार प्रदान गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आज (बुधबार) आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासंघको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख रुपैयाँसहित पुरस्कार-प्रमाणपत्र प्रदान गरियो ।

यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कास्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई एक लाख ५० हजार रुपैयाँका दरले पुरस्कार दिइयो ।

यस्तै गत असोज २० देखि २६ गतेसम्म श्रीलंका भलिबल संघको आयोजनामा श्रीलंकामा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई तीन लाखका दरले पुरस्कार दिइएको छ ।

उनीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो ।

साथै यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे ।