झापा, असार २८ :

प्रधानमन्त्री केपी ओलीले झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन् ।

भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा पालिकाका दुई सय जनालाई जग्गा धनीपुर्जा वितरण भएको हो ।

प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपुर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए ।

उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै पारित गरिने पनि जनाए । ओलीले जमिन खेर जान नदिई ठुला-ठुला चाक्ला बनाएर  व्यावसायिक खेती गरेर आर्थिक समृद्धिमा लाग्न आग्रह गरे ।

अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा

उनले देश विकासको गतिमा अग्रसर भएकोले निराशा र कुनै हल्लाको पछि लाग्नुनपर्ने बताउँदै शिक्षा र स्वास्थ आदिका क्षेत्रमा ठुलो परिवर्तन भएको जनताले अनुभव गरेको र अझै ठुलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट गरे ।

‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराउन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ।  त्यसपछि हाम्रो सहमति बमोजिम नेपाली कांग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ,’ उनले भने, ‘चुनावसम्म यो यात्रा जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु ।’

कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा धनीपुर्जा वितरण गरिने जानकारी दिए ।