काठमाडौं, असार २९ :

साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार २९ अंकले बढ्दै २,७६०.८० विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ९.१६ अंकले बढेर ४८१.१९ अंकमा चढेको छ ।

आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । गएको बुधबार बुधबार सात अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँको कारोबार भएको थियो । त्यसको भोलिपल्ट बिहीबार ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँको कारोबार भएको थियो । आज (आइतबार) भने ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँको कारोबार भयो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो । गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीति पुँजी बजारको पक्षमा आएपछि सेयर बजारमा आइतबार बिहानदेखि नै सकारात्मक छाएको थियो ।

नेप्सेमा आज ३११ वटा कम्पनीको एक लाख पाँच हजार ४१५ पटकको कारोबारमा तीन करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच भए ।

आजको दिनमा १५८ कम्पनीको सेयर मूल्य बढ्दा ९० वटाको भने घटेको छ । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा पाँचवटा समूहको मात्र सूचक घट्दा बाँकी सबै हरियाली बने ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा एनआईसी एसिया बैंक लिमिटेड परेको छ । जसको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । यसको सेयरमूल्य प्रतिकित्ता ४०५.४० रुपैयाँ कायम भएको छ ।

बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा हिमालयन हाइड्रोपावर लिमिटेड परेको छ । हिमालयन हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३५७.२१ रुपैयाँमा झरेको छ ।

नेप्सेमा आज एनआईसी एसिया बैंक लिमिटेडको कारोबार सर्वाधिक भएको छ । एनआईसीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४०५.४० रुपैयाँमा रह्यो । यसको ३७ करोड १४ लाख ९९ हजार ३२ रुपैयाँको सेयर कारोबार भएको छ ।