
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफू र पार्टीको नाम जोडेर आएका समाचारप्रति आपत्ति जनाउँदै ती समाचारहरू नियोजित रूपमा चरित्र हत्या गर्ने उद्देश्यले प्रसारित गरिएको आरोप लगाएकी छिन्।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले भूमिसम्बन्धी आयोगको नियुक्ति र कर्मचारी सरुवासम्बन्धी घुस प्रकरणमा आफ्नो वा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आफूमाथि लागेको आरोप पूर्ण रूपमा आधारहीन रहेको बताएकी छिन्।
‘म र मेरो पार्टीलाई बदनाम गराउने नियतले झुटा आरोपसहित समाचार बनाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो कार्य निन्दनीय छ र सह्य हुँदैन।’
श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी पारदर्शिता, सुशासन र शून्य सहनशीलताको सिद्धान्तमा अडिग रहेको बताउँदै सम्बन्धित निकायसँग सत्यतथ्य सार्वजनिक गर्न र कानुनी प्रक्रिया अपनाउन आग्रह गरेकी छन्।
उनले यस्ता किसिमका आधारहीन समाचारहरूले जनतामा भ्रम सिर्जना गर्ने, राजनीतिक अस्थिरता निम्त्याउने खतरा रहेको भन्दै यस्ता गतिविधिहरू रोक्न चेतावनी दिएकी छन्। ‘यदि भविष्यमा पनि यस्ता कार्यहरू रोकिएनन् भने कानुनी उपचार खोजिनेछ,’ श्रेष्ठको भनाइ छ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भूमिसम्बन्धी घुस प्रकरणमा संलग्न भएको भन्दै मंगलबार पदबाट राजीनामा दिएका छन्। गुप्ताले प्रधानमन्त्रीसमक्ष दिएको मौखिक स्पष्टीकरणमा श्रेष्ठले पठाएका व्यक्तिले आफूलाई फसाउन रकम छाडेर गएको दाबी गरेका थिए।
मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँको डिल भएको अडियो सार्वजनिक भएपछि यो प्रकरण सार्वजनिक भएको हो।