सर्लाही, साउन १ :

सर्लाहीको लालबन्दी नगरपालिका १ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अन्य दुईजना सख्त घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना.६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका ७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको हो ।

११ हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर सख्त घाइते भएका उनको हरिवनस्थित नमुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

करेन्ट लागेर ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान सख्त घाइते भएका छन् । उनीहरुको अवस्था सिकिस्त छ । उपचार भने नमुना अस्पतालमै भइरहेको छ ।