
सङ्घीय संसद् अन्तर्गत आज विभिन्न चार समितिहरूको बैठक बस्दै छन् ।
बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ । बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ ।
संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक पनि बिहान ११ बजे बोलाइएको छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।
दिउँसो १ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।