
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताउनुभएको छ ।
कर्पोरेसनको ६२ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले उपभोग्य वस्तुको अभाव हुन नदिएर यसले जनता र सरकारको विश्वासिलो संस्थाका रुपमा आफूलाई उभ्याउन सक्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि हुन नदिन संस्थाले उपभोग्य बजारमा गतिलो हस्तक्षेप गर्नुपर्नेमा जोड दिनुभयो ।
सेवा प्रवाह, बजारीकरण, दायरा र व्यापार वृद्धि गर्न प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने तर्फ सचेत गराउँदै मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्न तथा रासायनिक मलको सहज आपूर्तिमा यसले नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो ।
“साल्ट ट्रेडिङ यस्तो ब्राण्ड बनोस्, कि नामै काफी होस्, यसको उत्पादन आफ्नै ब्रान्ड बनोस्”, उहाँले भन्नुभयो ।
मन्त्री भण्डारीले व्यवसाय विस्तारका योजना बनाउन व्यवस्थापन र कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।
कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले गुणस्तरीय दैनिक उपभोग्य वस्तु सर्वसुलभ रुपमा जनताको घरदैलोमा पुर्याउन क्रियाशील रहेको बताउनुभयो । उहाँले आगामी दिनमा कर्पोरेसनको सेवा र व्यवसाय थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कर्पोरेसनका प्रमुख कार्यकारी अधिृकत उर्मिला श्रेष्ठले आमजनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास लगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा एक लाख राशिको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ यस वर्षका लागि मानव कल्याण समाज काभ्रेपलाञ्चोक तथा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने कर्मचारीका सन्तति दुई जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
यस्तै कर्पोरेसनका विभिन्न कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्नुका साथै २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई कदरपत्र प्रदान गरिएको थियो ।