
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान प्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयनमा गर्नुपर्ने बताएका छन् ।
पार्टीनिकट नेपाल उद्योग व्यापार महासंघले बुधबार चाबहिलमा गरेको कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रलाई सरकारले कम्तिमा आधारभूत दायित्वलाई जिम्मेवारीपूर्वक लिनुपर्ने उल्लेख गरे । नेपालको स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी रहेको उनको आरोप छ । स्वास्थ्य क्षेत्रमा संविधानको व्यवस्थाअनुसार राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले आफूहरूले सरकारमा वा सरकारबाहिर रहँदा पनि यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताए ।
उनले उद्योगी व्यवसायीलाई सामाजिक उत्तरदायित्व पूरा गर्न आग्रहसमेत गरे । महासंघका अध्यक्ष खेम भण्डारीले संगठन स्थापनाको अवसरमा साताव्यापी रुपमा विविध कार्यक्रमहरु आयोजना गरिएको जानकारी दिए ।
भण्डारीका अनुसार काठमाडौं उपत्यकासहित सातै प्रदेश र जिल्ला स्तरमा पनि संगठन स्थापना दिवसका अवसरमा रक्तदान, वृक्षरोपण तथा विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरिएका छन् ।