काठमाडौं, साउन १४ :

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको छ। 

काठमाडौंमा बुधबार भएको राष्ट्रिय भेलाले यस्तो निर्णय गरेको महासचिव ठाकुरसिंह थारुले जानकारी दिए । यो निर्णयसँगै उनी अध्यक्षबाट बर्खास्त भएकी छन् । उनले भने, ‘श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भयो । अब अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा भेलाले निर्णय गर्नेछ।

पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि अध्यक्ष श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै  वरिष्ठ नेता शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । आफू निकट बाँस्तोलाई कार्यवाहको जिम्मेवारी दिएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको थियो ।

घुसकाण्डमा मुछिएपछि पार्टी अनुशासन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । साथै रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि अनुशासन समितिले उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी मंगलबार निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको छ ।

यता अध्यक्ष श्रेष्ठले भने पार्टीको भेला विधानअनुसार अध्यक्षले मात्रै बोलाउनुपर्ने व्यवस्था भएको हुँदा यस बिषयमा आफुलाई केही जानकारी नै नआएकोले भेला वैधानिक नभएको दाबी गर्नुभएको छ ।