
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नवनियुक्त अध्यक्ष लालवीर चौधरीले बर्खास्तमा परेकी पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीबाट विधिसम्मत रूपमा हटाइएको दाबी गरेका छन्।
अध्यक्षमा नियुक्त भएपछि बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले श्रेष्ठले पार्टीको कामकारबाही अगाडि बढाउन नसकेको र त्यसैले पार्टीको निकासका लागि वैधानिक प्रक्रियाअनुसार परिवर्तन गरिएको स्पष्ट पारे।
‘उहाँ (रञ्जिता)लाई विधिसम्मत हटाइएको हो। पार्टीको निकासका लागि हटाइएको हो,’ चौधरीले भने।उनका अनुसार डेढ वर्षसम्म श्रेष्ठले पार्टी बैठकसमेत बोलाउन नसकेको र आवश्यक निर्णयहरू लिने प्रक्रिया ठप्प भएकोले राष्ट्रिय भेलामार्फत नेतृत्व परिवर्तन गरेको हो।
चौधरीले नेतृत्व परिवर्तन ढिलो हुन सक्ने अवस्था भए पनि आसन्न उपनिर्वाचनका कारण छिटो निर्णय लिनुपरेको बताए। तर बर्खास्तमा परेकी रञ्जिता श्रेष्ठले भने आफूलाई विधिसम्मत रूपमा नहटाइएको भन्दै आपत्ति जनाएकी छिन्।