
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबै दलका नेताहरूसँग संवाद र समन्वय गर्दै अगाडि बढ्न सुझाव दिएका छन्।
शनिबार विराटनगर–४ वडा समितिको आयोजनामा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै कोइरालाले देउवालाई ‘नेताहरुको नेता’ भनेर सम्मान गर्दै उनले राष्ट्रिय सहमतिको वातावरण बनाउने जिम्मा लिनुपर्ने बताएका हुन्।
‘देउवाजत्तिको अनुभवी र वरिष्ठ नेता अहिले देशमा छैन,’ उनले भने, ‘उहाँले सबै नेतासँग भेटघाट, चिया-पानी र संवादमार्फत देशको समस्याको समाधान खोज्नुपर्छ।’
कोइरालाले लोकतन्त्रको स्थायित्व कांग्रेसमाथि निर्भर रहेको भन्दै पार्टी बलियो नभए देश नै कमजोर हुने चेतावनी दिए। ‘लोकतन्त्रको पर्याय कांग्रेस हो, कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्र होइन, देश नै कमजोर हुन्छ,’ उनले जोड दिए।
उनले पछिल्ला निर्वाचनमा कांग्रेस आफैँभित्रको गुटबन्दी, इगो र असहयोगी प्रवृत्तिका कारण कमजोर भएको स्पष्ट पारे।‘जीवन्त र लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा स्वाभाविक हो,’ उनले भने, ‘तर प्रतिस्पर्धा विपक्षीसँग हो, आफ्नै साथीलाई हराउने मानसिकता घातक हुन्छ।’
कोइरालाले संगठन बलियो देखिए पनि चुनावी मत नझर्ने समस्यालाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गरे।
‘जिल्ला जाँदा कांग्रेसको भिड देखिन्छ, तर मतपेटिकामा हारिन्छ,’ उनले व्यथित हुँदै भने, ‘किनभने कांग्रेसकै कार्यकर्ताले कांग्रेसलाई मत हाल्दैनन्।’
उनले देउवालाई सत्ता गठबन्धनभित्र मात्र सीमित नभई सबै पक्षसँग संवाद गर्ने ‘अभिभावकीय भूमिका’ निभाउन आग्रह गरे।
कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य रमेशजंग रायमाझी, सहमहामन्त्री डा. प्रमिला गच्छदार, पूर्व मुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेसका सहसचिव सञ्जय मण्डल, र महिला संघकी डा. सीता घिमिरेले पनि सम्बोधन गरे।
त्यस अवसरमा ७२ वर्ष नाघेका १० जना क्रियाशील ज्येष्ठ कांग्रेस सदस्यहरूलाई सम्मान गरिएको थियो।