काठमाडाैं, साउन २४ :

तराइको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उनीको जीवन यात्रा हाल अन्तर्राष्ट्रिय जगत्सम्म फैलिएको छ । एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उनका अनुभव यस आलेखमा खोतल्ने प्रयास गरिएको छ । उनले नेपालमा लगानीका लागि गरेका प्रयासहरू कस्ता रहे त ? उनीबाट यी र यस्ता प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरिएको छ ।

नेपाली मूलका क्यानडेली व्यवसायी । ‘अर्डर अफ क्यानडा’ प्राप्त सफल उद्यमी । डिजी मार्केट इन्टरनेसनलका संस्थापक । महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिएका हुन्, आदित्य झा । उनी नेपालमा उद्यमशीलता विकास गर्नका लागि लोभलाग्दा अवसर रहेको बताउँछन् ।

झाको दाबी छ, ‘यदि मलाई नेपालमा काम गर्ने मौका दिइयो भने म परिणाम पनि दिन सक्छु । कसरी जम्मा एक जनाले सिंगापुर बनाउन सक्छ ? किन नेपालमा त्यस्तो दूरदर्शी नेता छैन?’

थुप्रै नेपाली विदेश गएर उद्यम व्यवसायीमा जमेका छन् । लोभलाग्दा सफलता छन् । उनीहरूले नेपाललाई साँच्चिकै माया गर्छन् र फर्किएर यहीँ काम गर्न चाहन्छन् ।

त्यसका लागि के गर्नुपर्ने हो ?

‘पलायन नेपालमा सामाजिक रोग बनेको छ । किनभने यहाँका धेरैजसो युवाले सोच्छन्- हामी गरिब छौँ, हाम्रो जीवन राम्रो छैन । सरकारी जागिर खोज्ने वा विदेश जानुलाई जीवनको ठूलो उपलब्धि ठान्छन् । तर उनीहरूलाई साना व्यवसायमार्फत आत्मनिर्भर बनाउन सकिन्छ । रु ५० हजारदेखि १० लाखसम्मको पुँजी दिएर क्रमिक रूपमा सशक्त उद्यमी बनाउन सकिन्छ,’ उनी विश्वासका साथ भन्छन् ।

सन् २०१८ देखि २०२३ सम्म झा नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत खरिद व्यवस्थापनमा जोडिएको सफ्टवेयर प्रणाली सञ्चालनसँग जोडिए । ‘मेरो कम्पनीले त्यहाँ पाँच वर्षसम्म काम गर्‍यो । ठुलो टोली थियो । तर पछि अर्को कम्पनीलाई काम दिइयो । अहिले सुनिरहेको छु, खरिदसँग सम्बन्धित अनलाइन प्रणाली फेरि अस्तव्यस्त छ,’ उनले सुनाए ।

नेपालको खरिद प्रक्रियालाई ‘ग्लोबल सेन्टर अफ एक्सिलेन्स’ बनाउने योजनाले काम गरेको उनी सुनाउनुहुन्छ । तर अस्थिरता र भ्रष्टाचार ? को कोपभाजनमा पर्‍यो उनीको योजना । ‘नेपालमा न काम हुन्छ न भ्रष्टाचार रोकिन्छ । अरू देशमा पनि भ्रष्टाचार हुन्छ, तर कम्तीमा काम त हुन्छ । यहाँ त केवल भ्रष्टाचार हुन्छ, काम नै हुँदैन,’ यो उनको कटु अनुभव हो ।

‘सबैभन्दा पहिले खराब कर्मचारी र विचौलियाबाट बचाइदेऊ । किनभने अहिले भइरहेका धेरै काममा आसेपासेहरूले फाइदा उठाइरहेका छन्,’ उनको भनाइ थियो ।

नेपालमा झाका नराम्रा अनुभव मात्रै रहे । उनीलाई लाग्छ, आलोचनात्मक राजनीतिक सोच राखेर इमान्दारीपूर्वक काम गर्ने र योग्य मान्छेहरू ल्याएर जिम्मेवारी दिने हैसियत अहिले नेपालको राजनीतिमा छैन । नेपाल त्यसका लागि तयार पनि छैन । सूचना प्रविधि र कृत्रिम बौद्धिकताको क्षेत्रमा नेपालले धेरै गर्न सक्छ । तर त्यसका लागि व्यवसायीलाई कुनै हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ ।

‘बीस वर्षअघि भियतनाम कहाँ थियो र नेपाल कहाँ थियो ? तर अहिले भियतनाम कहाँ पुग्यो ? नेपाल किन रोकियो भन्ने कसैले प्रश्न गर्दैन ।’ उनको बुझाइमा राजनीतिक दूरदर्शिता भएको नेतृत्व नेपालल पाउन सकेन । नागरिकमा पनि ‘यो मेरो देश हो’ भन्ने भावना नहुनु र देशलाई माया गर्ने भावना हराउनुलाई पनि उनी समस्याका देख्नुहुन्छ ।

‘राष्ट्रको समृद्धिमा राजनीतिज्ञको ठूलो भूमिका हुन्छ,’ उनले जोड दिए । ‘मुलुकको समृद्धि भनेको दियोजस्तो हो । दियो आफैँ बल्छ, तर हावा चल्दा निभ्न नदिन केही चाहिन्छ । राजनीति भनेको त्यही हावा लाग्दा दियो निभ्न नदिने छेकबार हो ।’

उनले भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुलाई उदाहरण दिँदै भने, ‘एक नेताको भिजनले हैदरावादलाई आइटी हब बनायो । जब उनले हैदरावादलाई सूचना प्रविधिमा लैजान सुरू गरे, त्यसबेला कसैले हैदरावाद चिनेका थिएनन् । भारतमा बैङ्गलोर, चेन्नई, दिल्ली र मुम्बई मात्र चर्चामा थिए । तर अहिले हैदरावाद कहाँ पुग्यो ? ’

उनलाई लाग्छ, यस्तै केही राजनीतिक दृष्टिकोण भएका नेताहरू र केही उद्यमीहरू मिलेर अघि बढ्न सके नतिजा देखिन्छ ।

‘नेपालले सूचना प्रविधि, कृत्रिम बौद्धिकताजस्ता क्षेत्रलाई प्राथमिकता दिएर पाँच–दश उद्यमी पहिचान गरेर भन्नुपर्छ, ‘हामी तिमीहरूलाई छुँदैनौँ, जाऊ, संसार जितेर आऊ, नेपालबाट केही बनाऊ, त्यसपछि हेरौँ, कस्तो नतिजा आउँछ,’ झाको उत्साही निष्कर्ष थियो ।

नेपाल अहिले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइरहेको छ । झाको विज्ञताको क्षेत्र पनि आईटी भएकाले यस क्षेत्रमा किन नजाने ? जवाफमा उनले अर्को तितो अनुभव सुनाए ।

आइटीमा आफूले पाएको सफलताको अनुभवमा उनी भन्छन्, ‘तपाई नेपालको आइटी क्षेत्रमा काम गर्नुहुन्छ भने तपाईँको सफलता फरक हुन्छ, त्यही व्यक्ति पटना (भारत) मा आइटी पेसामा भए अर्को हुन्छ ।’

अहिले झा विद्युतीय सार्वजनिक खरिद (इ–प्रोक्युरमेन्ट) र बोलपत्र व्यवस्थापन गर्ने विश्वकै पुरानो र ठूलो कम्पनीमध्ये कम्पनी डिजिमार्केट इन्टरनेसनल इन्कको नेतृत्व गरिरहेका छन् । यो कम्पनीका नौ देशमा कार्यालय छन् । कतै एक जना मात्र कर्मचारी छन्, कतै तीन जना । भारतमा सबैभन्दा धेरै ८० हाराहारी कर्मचारी छन् । तर झाको सपना भनेको नेपालमै यसलाई विशाल बनाउने थियो ।

किन यस्तो सफलता नेपालमै सम्भव भएन ? क्यानडा नै किन जानुपर्यो ? किन यस्तो सफलता नेपालमै बन्न सक्दैन ? किन मानिसहरू विदेश गएर मात्रै राम्रो गर्छन् ? यहाँ यो किन सम्भव भएको छैन ? अनि विदेश गएर सफल भएका नेपालीहरूले फर्केर यहाँ आएर यस्तो बनाउन सक्छन् कि सक्दैनन् ? ’

उनीलाई लाग्छ – सायद नेपालको राजनीतिक अस्थिरता, प्रशासनीक उल्झन, भनसुनको प्रवृत्ति मुख्य समस्याहरू हुन् ।

‘म टोरन्टोमा बसेको मान्छे, मलाई थाहा छैन त्यहाँको प्रहरी कमिस्नर को हुन् । मलाई थाहा हुनु पनि पर्दैन । तर नेपालमा मानिसहरू गर्वका साथ भन्छन्, “म फलानो डिएसपीलाई चिन्छु, फलानो मन्त्री, फलानो जिल्लाको सिडिओलाई चिन्छु,’ झाको जवाफ थियो ।

भनसुन प्रवृत्ति नेपालको समस्या हो । अरु देशमा नागरिकलाई सबै नेताको नाम थाहा नहुन सक्छ । किनभने उनीहरूलाई थाहा हुनुपर्ने नै हुँदैन । ‘तपाईँ आफ्नो काम गर्नुहोस्, त्यसैमा महत्व छ । यो नै सभ्य समाजको चिनारी हो ।’

उनले अगाडि भने, ‘“हामी नेपाल सानो देश भन्छौँ । तर सिङ्गापुर पनि त सानो नै हो । युरोपका धेरै देश त नेपालभन्दा पनि साना छन् । तर तिनको विकासमा भूगोलले कहिले रोक लगाएन । समस्या हाम्रो सोचाइ र संरचनामा छ ।’

सन् २००३ तिर झालाई व्यावसायिक सफलता मिलिरहेको बेला उनीको मनमा एउटा सपना पलायो, ‘नेपालमा पनि आइआइटीजस्तो संस्था कसरी सुरू गर्न सकिएलार ? ’

त्यो बेला भारतमा जम्मा चार/पाँच वटा मात्र आइआइटी थिए । अहिले त्यो सङ्ख्या निकै बढिसकेको छ ।

उनले सम्झे, ‘तपाईँ इतिहास हेर्नुहोस्, अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्डजस्ता विश्वविद्यालयहरू पनि व्यापारीहरूको आर्थिक सहयोगबाट नै राम्रो बनेका हुन् । तर ती विश्वविद्यालय स्वतन्त्र थिए । व्यवसायीहरूले पैसा त दिए, तर चलाउने उनीहरूले होइन ।’

झाले नेपालका विद्यालयहरूलाई सहयोग गर्ने चाहना राखेका थिए । तर नेपालमा अवस्था फरक छ । उनी भन्छन्, ‘कुनै ट्रस्ट बनाइयो भनेर नाफारहित त भनिन्छ, तर नाफा चाहिँ व्यक्तिको खल्तीमा जान्छ । अस्पताल ट्रस्टको नाममा खोलिन्छ, तर पैसा घुमाएर उनीहरूकै खल्तीमा । यो प्रवृत्ति नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामा उस्तै छ ।’