
गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार ६७५ विपद्का घटना भएका छन् ।
ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपद्का घटनामा परेर ११७ जनाको ज्यान गएको छ भने ५६४ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य १९८ घटना हुँदा १६ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन् । बाढीबाट एक हजार ३१३ घरपरिवार प्रभावित भएका छन् ।
प्राधिकरणको विवरणअनुसार पहिरोका कुल २८१ घटना भएका छन् । त्यसमा परेर १३ जनाको ज्यान जाँदा १७ जना घाइते भएका छन् ।
यस्तै भारी वर्षाका कारण १७४, चट्याङका कारण १४४, सर्पदंशका कारण ७४, आगलागीका कारण एक हजार ६६, वन डढेलोबाट १५८, हावाहुरीबाट २७६, जनावर आक्रमणबाट १५३, लेक लागेर ४१, भूकम्पका कारण पाँच घटना भएका छन् । विपद्जन्य घटनाका कारण चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । त्यसमा परेर २२ जना बेपत्ता भएका छन् ।
यस्तै साउन २४ गतेसम्म मात्रै ३५ विपद्का घटना भएका छन् । त्यसमा सबैभन्दा बढी पहिरोका १३, आगलागीका चार, बाढी एक, अविरल वर्षा पाँच, चट्याङ एक, लेक लागेको दुई र जनावरको आक्रमणबाट एउटा घटना भएको छ । ती घटनामा परेर ६ जना घाइते भएका छन् ।