
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारमा बसाइका क्रममा आफूले भोग्दै आएको समस्याबारे राष्ट्रिय मानवअधिकार आयोगको निरीक्षण टोलीलाई सुनाएका छन्।
लामिछानेले पहिलो गुनासाको रुपमा कारागार स्थानान्तरण हुन नदिएको बारेमा बताएका थिए। अदालतले अनुमति दिइसकेको भए पनि कारागार प्रशासनले हालसम्म स्थानान्तरण प्रक्रिया अघि नबढाएको लामिछानेको पहिलो गुनासा थियो।
यस्तै दोस्रो गुनासा कारागारको ब्लक नम्बर ४ मा रहेको झ्यालहरू प्लाइउडले टालिएकाले शुद्ध हावा नआउने हुँदा स्वासप्रस्वासमा समस्या हुने गरेको , एक सय दिनसम्म स्वच्छ हावामा हिँडडुल गर्न नपाएको उल्लेख गर्दै झ्याल खुला गर्न माग गरे।
यस्तै तेस्रो गुनासाका रूपमा लामिछानेले कानुनी प्रतिनिधि, शुभेच्छुक र कार्यकर्तासँग भेटघाट सहज नभएको र दैनिक पत्रपत्रिका उपलब्ध नहुँदा सूचना पाउन कठिन भएको बताएका थिए।
बसोबास र खानपानको व्यवस्था सन्तोषजनक भए पनि शुद्ध हावा, स्थानान्तरण प्रक्रिया र संचार तथा भेटघाटमा देखिएको असहजताप्रति लामिछाने असन्तुष्ट देखिएका थिए।आयोगले उक्त गुनासाहरूलाई गम्भीरताका साथ लिएर आवश्यक पहल गर्ने जनाएको छ।
आयोगकी आयुक्त लिली थापा, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख हरि ज्ञवाली र इन्सेक प्रतिनिधि रिमा बीसीसहितको टोलीले सोमबार भैरहवा कारागारको निरीक्षण गर्दै लामिछानेसहित थुनुवासँग अन्तर्क्रिया गरेको थियो।