काठमाडौं, साउन २७ :

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाको भिसा नियम उल्लंघन गर्नेहरूप्रति कडा चेतावनी दिएको छ। सामाजिक सञ्जालमार्फत दूतावासले स्पष्ट रूपमा जनाएको छ कि भिसामा तोकिएको समयभन्दा बढी अमेरिका बसेमा व्यक्तिलाई आजीवन अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइन सक्नेछ।

फेसबुकमार्फत सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘यदि तपाईं आफ्नो भिसामा दिइएको अनुमति अवधिभन्दा बढी समय अमेरिकामा बस्नुहुन्छ भने तपाईंलाई स्थायी रूपमा अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइने सम्भावना रहन्छ।’ दूतावासले यस्ता उल्लंघनमा इमानदार गल्ती भन्ने बहाना मान्य नहुने पनि स्पष्ट पारेको छ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता आप्रवासी नियम कडा पारिएको छ। नियम उल्लंघन गर्नेहरूलाई अमेरिका सरकारले आफ्नै देश फिर्ता गर्दै आएको छ। यस्तो कडाइका कारण अमेरिका जान चाहने नेपाली नागरिकहरूलाई सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।