
प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रको २४औं स्थापना दिवसका अवसरमा सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा उनले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए । मुख्यसचिव, प्रधानसेनापति, सबै सचिव, सुरक्षा निकायका प्रमुखसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शिता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्नेमा जोड दिए ।
भ्रष्ट आचरण र पथभ्रष्ट भएका व्यक्ति छन् भने पदासीन भए पनि तिनले मनदेखि अरुको सम्मान नपाउने उनको भनाइ थियो । ‘विनामोलाहिजा छानबिन र अनुगमन गर्नुस् । देखिएका कुरा यस्तै बैठकमा आएर खुलस्त भन्नुस् । मेरै (प्रधानमन्त्रीकै) कमजोरी देखिए पनि आएर भन्नुस् । मेरो नाम भजाएर कसैले गलत काम गराउन खोज्न भने त्यस्तो काम नगर्नुस्, झपारेर पठाउनुस्,’ उनले भने, ‘आफूभन्दा मातहतका मानिस वा सार्वजनिक रुपमा गिर्ने गरी कुनै काम नगर्नुस् । अरुको आँखाबाट नझर्नुस् । आफ्नो आँखाबाट पनि नझर्नुस् । त्यसो गरेर सुशासनलाई सघाउनुस् ।’
उनले संयुक्त राष्ट्रसंघले भने झैँ कोही पनि पछि नपरुन् (नो वान लेफ्ट बिह्याइन्ड) भनेर मानिसका जैविक आवश्यकता परिपूर्ति र सम्मानित एवं सुरक्षित जीवनयापनका लागि दृढ संकल्प गर्न आग्रह गरे । ‘नेपाललाई विकसित मुलुकमा रुपान्तरणका लागि हामीले सुशासनको दृढ संकल्प लिएर छिटो छिटो दौडन आवश्यक छ । अहिले असन्तुष्टि भड्काएर अराजकता मच्याउन खोजिएको छ । त्यसबाट बच्न हामीले मानिसलाई ज्ञानसँगै राम्रो कामका लागि सचेतना गराउनुपर्छ । पथभ्रष्ट हुनेलाई कानुनको नियन्त्रणमा ल्याइयोस्,’ उनले भने, ‘प्राकृतिक रुपमा उर्बर र ज्ञानको उद्भवभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण छैन । अब हामीले मुलुकबाट सबै प्रकारका पछौटेपन हटाउन लाग्नुपर्छ । देखिएका कमजोरी छन् त्यस क्रममा सतर्कता केन्द्रले आफ्नो सक्रिय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु ।’