
ललितपुरस्थित मितेरी सहकारी ठगी प्रकरणमा ११ जनाविरुद्ध मुद्दा सिफारिस गरिएको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ भने निर्दोष ठहरिएका छन् ।
अपराध अनुसन्धान विभाग (सीआईबी) ले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुधबार बुझाउँदै गुरुङको संलग्नताबारे कुनै प्रमाण नपाइएकाले उनलाई मुद्दाबाट मुक्त गर्न सिफारिस गरेको हो ।
सीआईबीले सहकारीको करिब १४ करोड रुपैयाँ ठगी गरिएको उल्लेख गर्दै सोहीअनुसारको बिगो मागदाबी गर्न सिफारिस गरेको छ । त्यस्तै, सहकारी सञ्चालकहरूलाई रकम फिर्ता गरिदिने भन्दै करिब साढे तीन करोड रुपैयाँ थप ठगी गरिएको भन्दै त्यो बिगो पनि दाबी गर्नुपर्ने राय दिएको छ ।
प्रकरणमा ज्योति गुरुङ, बर्दिया बाँसगढी ७ का ४२ वर्षीय ज्योतिबहादुर भण्डारी, धादिङको धुनीवेशी नगरपालिका ९ का सुवास खत्री, बाँसगढी ७ का सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापालगायत ११ जनालाई प्रतिवादी बनाइएको छ ।
तीमध्ये भण्डारी, खत्री र अधिकारी मात्रै पक्राउ परेका छन् भने अन्य फरार छन् । यसअघि उपसभापति गुरुङको नाम प्रकरणमा जोडिए पनि सीआईबीको अनुसन्धानपछि उनीमाथि कुनै संलग्नता नरहेको पुष्टि भएको हो ।