
प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन गरेको प्रयासलाई विपक्षी दलहरुले असफल पार्ने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको पहलमा सिंहदरबारमा मंगलबार बसेको विपक्षी दलहरूको बैठकले त्यसलाई असफल पार्ने निर्णय गरेको छ। बैठकमा सहभागी दलहरूले उक्त कदमको घोर भर्त्सना गर्दै संविधान, लोकतन्त्र र समावेशी प्रणालीमाथिको हमला भन्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार उपसभामुखविरुद्ध ठोस प्रमाणबिनै हटाउने प्रयास एकात्मक शासनतिर जाने संकेत हो। उनीहरूले सडकदेखि सदनसम्म प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् ।
प्रचण्डले भने- उपसभामुखलाई हटाउन खोज्नु गलत हो, यसको विरोध गर्छौं
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुखलाई हटाएर सत्तारूढ गठबन्धनले संवैधानिक परिषद् कब्जा गर्ने नियत देखिएको बताएका छन्। कांग्रेस-एमालेले खाली कागजमा हस्ताक्षर संकलन गरेको आरोप लगाउँदै उनले यसलाई लोकतन्त्रको अपमान भनेका छन् ।
बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, आम जनता पार्टी, र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए। विपक्षीहरू उपसभामुख हटाउने सत्तापक्षको कदम संविधानविपरीत भन्दै एकजुट भएका छन्।