
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ।
के हो यसको कथा भन्ने कुतूहल दर्शकमा मात्रै होइन नेपाली सिने वृत्तमा पनि छ । सिनेमामा कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनालीलगात छन् ।
यी कलाकार कसको के भूमिका र एक-अर्कासँग कसको सम्बन्ध के हो भन्ने अहिलेसम्म निर्माणपक्षले खुलाएको छैन । आर्य र मंगोलियन फेस छन् । तर एकअर्कासँगको सम्बन्ध खुलिसकेको छैन ।
मुख्य भूमिकामा विजय छन् । साथीको भूमिकामा सुशांक छन् । सम्भवत: जनै यी दुई कलाकारसँग जोडिएर आउँछ । तर सिनेमाको नामसँग जोडिएको जनैसँग चाहिँ विजय जोडिन्छन् कि सुशांक हालसम्म निर्माणपक्षले केही उल्लेख गरेको छैन ।
त्यसैले हालसम्म जनैको प्रश्न अनुत्तरित नै छ । कसरी हराउँछ । जनै, कसको हराउँछ जनै यसका लागि हलमा सिनेमा नै कुर्नुपर्ने निर्माणपक्षले बताएको छ ।
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा बलियो लाइनअप रहेको छ । चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चूडामणि शिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डीसी र जेम्स महाराजन छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।
गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ । अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई सेन्सर बोर्डबाट ‘यू सर्टिफिकेट’ मिलेको छ । सेन्सर बोर्डले सबै वर्गका दर्शकले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको हो । केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको यो सिनेमाको रनटाइम २ घण्टा २३ मिनेट तय छ ।