काठमाडौं, भदौ ४ :

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेताबाट गंगाराम चौधरीलाई बर्खास्त गरेकी छन्।  उनले संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई पत्र पठाउँदै चौधरीलाई बर्खास्त गरेको जानकारी गराएकी हुन् ।

श्रेष्ठले पत्रमा दलको नेता हेरफेरबारे जानकारी गराएकी छिन्।  चौधरीले पार्टीको हितविपरीत कार्य गरे  र स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवम् सन्तोषजनक जवाफ प्राप्त नभएको हुँदा पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२/०४/३० गते कारबाही गरेको हुँदा तहाँ यस पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोमा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयमले संसदीय दलको नेताको भूमिकासमेत निर्वाह गर्ने व्यहोरा जानकारी गराइन्छ' श्रेष्ठले सभामुखलाई पठाएको पत्रमा भनिएको छ।

उनले  संसदीय दलको नेताको नयाँ विवरण अधिलेखीकरण गर्न समेत अनुरोध गरेकी छन्। घुस प्रकरणमा मुछिएकी अध्यक्ष श्रेष्ठलाई हटाएर संस्थापनक अध्यक्ष रेशम चौधरीले आफ्नै बुवा लालवीर चौधरीलाई अध्यक्ष बनाएका थिए । निर्वाचन आयोगले रञ्जितालाई नै मान्यता दिएपछि अहिले नाउपाभित्र चरम विवाद उत्पन्न भएको छ । रेशम चौधरी पक्ष नयाँ पार्टी खोल्ने सम्मको तयारीमा जुटेका छन् ।