
काठमाडौं महानगरपालिकाले डेंगी रोगको रोकथाम र नियन्त्रणका लागि एकदिने ‘वाक एन्ड एक्ट’ मेगा अभियान सफलतापूर्वक सम्पन्न गरेको छ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनालाई डेंगी रोग सचेतना महिनाका रूपमा मनाउने निर्णयअनुसार गत महिना नियमित अभियान सञ्चालन गरिएको थियो । तथापि डेंगी रोगको प्रकोप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरपालिकाले हरेक शुक्रबार लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ ।
राष्ट्रिय सभागृहबाट सुरु भएको यो अभियानमा महानगरका सबै वडामा एकसाथ लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, माइकिङमार्फत जनचेतना फैलाउने, र्यालीको क्रममा भेटिएका लामखुट्टेका प्रजननस्थलमा रहेका अन्डा र लार्भा नष्ट गर्ने, साथै आमनागरिकलाई सचेत गराउने कार्य गरिएको छ । अभियानमा महानगरका विभागीय प्रमुखहरू, स्वास्थ्य विभागका कर्मचारी, जनप्रतिनिधि, स्थानीय बासिन्दा र विभिन्न सरोकारवालाको सक्रिय सहभागिता थियो ।
स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले अभियानको महत्त्वबारे भने, ‘डेंगी रोग नियन्त्रणका लागि सामुदायिक सहभागिता र सचेतना अत्यन्त महत्त्वपूर्ण छ । हामीले लामखुट्टेको बासस्थान नष्ट गर्न र आमनागरिकलाई सचेत गराउन यो मेगा अभियान आयोजना गरेका हौं । सबैको साथ र सहयोगले डेंगी नियन्त्रणमा ठुलो सफलता प्राप्त गर्न सकिन्छ ।’
अभियानले काठमाडौं महानगरवासीलाई आफ्नो घर, आँगन र वरपरको वातावरण सफा राख्न, पानी जम्ने ठाउँहरू हटाउन र लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउन प्रेरित गरेको छ ।
महानगरपालिकाले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । साथै महानगरवासी, सरकारी तथा निजी कार्यालय, अस्पताल, नर्सिङ होम, विद्यालयलगायत सबै क्षेत्रलाई आफ्नो वरपरको स्थान सफा राख्न आग्रह गरेको छ ।