काठमाडौं, भदौ ८ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन संघर्ष हुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकमा उनले यस्तो धारणा राखेका हुन् । ‘हामी समाजवादको यात्रातर्फ जाँदै छौं भने यसको मूल आधार उत्पादन हो । उत्पादन संघर्षमा सिंगो पार्टी केन्द्रित नभइ समाजवाद सम्भव हुँदैन ।’

उनले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन नै हुने भएकाले पार्टीले उत्पादनको नीति अगाडि बढाएको स्पष्ट गरे । पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेकाले जनतामा पार्टीप्रतिको भरोसा कमजोर बनेको उल्लेख गर्दै उनले त्यसलाई तत्काल सच्याउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्तिप्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ । अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ ।’

उनले हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने दाबी गरे ।

अध्यक्ष दाहालले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको भ्रूण हुने बताउँदै सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए । सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्विको लडाइँ लडेको स्मरण गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्र र (दलाल, नोकरशाही र बिचौलिया) सँगै रहन नसक्ने बताए । उनले भने, ‘दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन । त्यस्ता प्रवृत्ति लामो समय माओवादी पार्टीमा रहिरहन सक्दैन । माओवादी केन्द्र नै नेपालको रुपान्तरणकारी समाजवाद निर्माण गर्ने एकमात्र सम्भावना बोकेको पार्टी हो ।’

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकमा पार्टी उपाध्यक्ष नन्दबहादुर पुनले विभाग र संयन्त्रको अवधारणा र केन्द्रीय सदस्य शरदसिंह भण्डारीले कार्यविधि प्रस्तुत गरे ।