काठमाडौं, भदौ १४ :

पतञ्जलि आयुर्वेदसँग जोडिएको बहुचर्चित जग्गा प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई बिना कारण मुद्दा लगाइएको बताएका छन्।

काठमाडौँमा शनिबारआयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो प्रकरणमा आफू निर्दोष रहेको प्रस्ट पारे। ‘कुनै गल्ती र बदमासी मैले जीवनमै गरेको छैन,’ उनले भने।

अध्यक्ष नेपालले पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा दिने निर्णय कानूनतः सम्भव भएको जिकिर गर्दै त्यो निर्णय मन्त्रिपरिषद्बाट सर्वसम्मत रूपमा पारित भएको दाबी गरे। ‘त्यसबेला क्याबिनेटमा विद्यादेवी भण्डारीदेखि सुजाता कोइराला, शंकर पोखरेल र मीनेन्द्र रिजाललगायत सहभागी थिए। सबैको सहमतिमा निर्णय गरिएको हो,’ उनले स्पष्ट पारे।

उनको भनाइमा, नेपालको कानुनले हदबन्दीभन्दा बढी जग्गा राख्न दिन सक्ने विशेष व्यवस्था गरेको छ, जसअन्तर्गत नेपाल सरकारले सूचित आदेशमार्फत स्वीकृति दिन सक्छ र आवश्यक सर्तहरू तोक्न सक्छ।

नेपालले स्वीकृतिबिना खरिद भएको भए पनि नियमन गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै, ‘हदबन्दीभन्दा बढी जग्गा राख्न दिएर गल्ती भयो भन्ने आरोपको कानुनी आधार छैन,’ भने। पूर्वप्रधानमन्त्री नेपालको यो खुलासा पछि सरकारको भूमिकासम्बन्धी बहस थप चुलिने देखिएको छ।