काठमाडौं, भदौ १४ :

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने बताएका छन्। 

शनिबार काठमाडौँमा ३३ औं महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘सानोमा हलिउड फिल्म हेर्दा सिटी पुलिसको काम जस्तो देखिन्थ्यो, अहिले काठमाडौँ महानगर प्रहरी त्यस्तै काम गर्दैछ।’फिल्ममा देखाइएको काम वास्तविक जीवनमा हुनु खुसीको कुरा भएको उनले बताए।

साहले सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिए  । साथै उनले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगरप्रहरीलाई अनुरोध गरे  

प्रमुख साहले भने, ‘महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु ।’ 

शाहले काठमाडौँ महानगरपालिकाबाट अन्य पालिकाले काम गर्ने शैली सिक्न चाहेको बताउँदै महानगर प्रहरीको भूमिका सराहना गरे। उनले नगर प्रहरीको योगदानलाई सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउने, सुशासन र सुव्यवस्थामा अत्यन्त महत्त्वपूर्ण भएको बताएका छन्।

‘काठमाडौँ महानगरपालिकाको कामलाई धेरै पालिकाले अनुकरण गर्न चाहन्छन्। यसमा महानगर प्रहरीको ठूलो योगदान छ,’ शाहले भने। उनले काठमाडौँ महानगर प्रहरीलाई राजधानीको पहिचान भनेका छन् । उनले भविष्यमा अन्य सिटी पुलिस र स्थानीय सरकारका लागि सिकाइको स्रोत बन्ने विश्वास व्यक्त गरे।