
इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि राजस्थान रोयल्स क्रिकेटको मुख्य प्रशिक्षक रहेका भारतका महान ब्याट्सम्यान राहुल द्रविडले सो पदबाट राजीनामा दिनुभएको छन् ।
टोली व्यवस्थापनको संरचनागत समीक्षापछि ५२ वर्षीय द्रविडलाई ‘थप विशेष जिम्मेवारी’ को प्रस्ताव गरिएको भएपनि पूर्व भारतीय कप्तानले उक्त प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘मुख्य प्रशिक्षक राहुल द्रविडले आइपिएल २०२६ अघि फ्रेन्चाइजीमा आफ्नो कार्यकाल समाप्त गर्नुहुनेछ ।’
द्रविड यस वर्षको टी–२० प्रतियोगिताअघि मुख्य प्रशिक्षकको रूपमा टोलीमा आएको थियो तर राजस्थान प्लेअफमा १० टोलीको तालिकामा निराशाजनक नवौं स्थानमा रहेपछि उनको भूमिकाप्रति प्रश्न उठेको थियो।
द्रविड पहिलो पटक सन् २०११ मा राजस्थानमा खेलाडीका रूपमा सामेल भएका थिए भने सन् २०१२ र २०१३ मा दुई सिजन राजस्थानको कप्तानी गरेका थिए ।
उनले २०१४ मा एक टीम निर्देशकको रूपमा सेवा गरे भने त्यसको एक वर्ष पछि संरक्षकको रूपमा सेवा गरेका थिए ।
सन् २०१२ मा द्रविडले सन्यास लिनुअघि १६४ टेस्ट म्याचमा १३ हजार २८८ रन बनाएका थिए ।