काठमाडौं, भदौ १७ :

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापाले आफ्नो पारिवारिक जीवनबारे उठेका प्रश्नहरूलाई पार्टीमाथि गरिएको योजनाबद्ध आक्रमण भनेका छन्।

उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफूमाथि नभइ रास्वपा पार्टीलाई बदनाम गर्न खोजिएको आरोप लगाएका हुन्।

डा. थापाले आफूले दुईपटक विवाह गरेको र एकजना श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको स्वीकार गरेका छन्। उनले ती श्रीमतीसँग सौहार्दपूर्ण सम्बन्ध रहेको र छोराको साझा अभिभावकत्वमा मिलेर काम गरिरहेको बताएका छन्।

उनले भनेका छन्, ‘सम्बन्धविच्छेद भए पनि एक-अर्कालाई सम्मान गर्न सकिन्छ।’ उनले आफ्नो व्यक्तिगत जीवन कानुनी रूपमा ठीक रहेको र कुनै गलत काम नगरेको स्पष्ट पारेका छन्।

थापाका अनुसार, उनले आफ्नो पारिवारिक स्थितिबारे पार्टीलाई पहिले नै जानकारी गराइसकेका थिए, र पार्टीले कानुनी परामर्श लिएर मात्रै उनलाई उम्मेदवार बनाएको हो।

डा. थापा १४ वर्षदेखि न्युरोचिकित्सकको रूपमा काम गर्दै आएका छन्। उनले पेशा र जीवनप्रति सन्तुष्टि भए पनि देशमा बढ्दो भ्रष्टाचार र अन्याय देखेर राजनीतिमा आएको बताएका छन्।

‘म नेता बन्न होइन, देश बदल्न आएको हुँ,’ उनले भनेका छन्।

उनले पार्टीले गर्ने कुनै पनि निर्णय स्वीकार गर्ने बताएका छन्। उनले ३५ दिन लामो छनोट प्रक्रियाबाट उम्मेदवार बन्ने मौका पाएको जनाएका छन्।