काठमाडौं, भदौ २० :

नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको पछिल्लो बहसले पार्टीभित्र गहिरिँदो विचारधारात्मक ध्रुवीकरण र शक्ति संघर्ष प्रष्ट हुँदै गएको छ। जनताको बहुदलीय जनवाद (जबज), जसको रचना स्वर्गीय नेता मदन भण्डारीले गरेका थिए । जुन दशकौंसम्म एमालेको वैचारिक मेरुदण्डका रूपमा स्थापित रह्यो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जबजको मर्ममाथि प्रहार गरेको र त्यसलाई विस्थापन गर्न खोजेको  पूर्वराष्ट्रपति विद्या भण्डारी निकट नेताहरूले आरोप लगाउँदै आएका छन्। उनीहरूको भनाइमा, ओलीले जबजलाई असान्दर्भिक सावित गर्दै आफ्नै विचारलाई संस्थागत गराउने प्रयास गरिरहेका छन्।

ओलीको नयाँ प्रस्ताव : ‘नेपाली विशेषताको समाजवाद’

ओलीले केही समययता ‘सुखी नेपाली, समृद्ध नेपाल’भन्ने नारालाई प्राथमिकतामा राख्दै आएका थिए। तर, शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा उनले 'नेपाली विशेषताको समाजवाद' प्रस्ताव गर्दै जबजको परम्परागत लाइनभन्दा भिन्न वैचारिक मार्गको संकेत दिएका छन्।

यो प्रस्ताव एमालेभित्र वैचारिक मोडको रूपमा हेरिएको छ। जसले 'जबज' लाई वैचारिकरूपमा पछाडि पार्ने प्रयत्न गरेको विद्या पक्षको बुझाइ छ। विधान महाधिवेशनमा यसबारे प्रतिनिधिहरूको धारणा र बहसले पार्टीको भावी वैचारिक दिशालाई निर्धारण गर्ने देखिन्छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ओलीले स्वयं विद्या भण्डारीको उपस्थितिमा मदन भण्डारीमाथि विवादास्पद टिप्पणी गरे। ‘कसैले सहकारी ठग भन्थे, कसैले चार श्रीमती छन् भन्थे’भन्ने कथन आलोचना मात्र थिएन, त्यो पार्टीभित्र विचारधारात्मक सन्दर्भको पुनः व्याख्या गर्ने प्रयासको भागका रूपमा पनि लिइएको छ।

ओलीले त्यसै कार्यक्रममा जबज पार्टीको सामूहिक निर्णय र विमर्शबाट विकास भएको भन्दै त्यसलाई व्यक्तिगत रुपमा मदन भण्डारीको एकल उपलब्धि बनाउनु उचित नभएको संकेत दिए। यसबाट पनि ओलीले जबजको ऐतिहासिक आधारलाई पुनः लेख्ने वा पुनः संरचना गर्ने प्रयास गरिरहेका देखिन्छन्।

ओलीको उक्त धारणा र कार्यशैलीविरुद्ध विद्या भण्डारी पक्ष सक्रिय बन्दै गएको छ। उनीहरूले मदन भण्डारी फाउन्डेसनमार्फत जबज पुनःस्थापनाको अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। डोरमणि पौडेलको संयोजकत्वमा रहेको यो अभियान देशभर फैलाउने तयारीमा छ। यसले ओलीको वैचारिक प्रस्तावमाथि प्रत्यक्ष चुनौती पेस गर्ने संकेत दिएको छ।

जबजको विषयमा देखिएको यो बहस केवल वैचारिक विवाद मात्रै होइन, पार्टी नेतृत्वमा कसको पकड बलियो हुन्छ भन्ने राजनीतिक शक्ति सन्तुलनसँग पनि गहिरो सम्बन्ध राख्छ। ओली पक्ष नयाँ सोच, राष्ट्रियतामा आधारित समाजवादको खाका ल्याएर आफ्नो विचारलाई संस्थागत गर्न चाहन्छ, भने विद्या पक्ष पुरानो विचार, जबज र मदन भण्डारीको मूल दृष्टिकोणमा पार्टीलाई फर्काउन चाहन्छ।

आगामी महाधिवेशनहरू, कार्यकर्ता प्रशिक्षणहरू, र सार्वजनिक बहसहरूले एमालेको वैचारिक दिशा कुन बाटो लाग्छ भन्ने टुंगो लगाउनेछ। तर स्पष्ट छ, पार्टीभित्र अब जबज केवल एउटा वैचारिक लाइन नभएर सत्ता संघर्षको मुख्य मैदान बनेको छ।