काठमाडौं, भदौ २३ :

‘जेनजी’पुस्ताको नाममा आज भएको देशव्यापी प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।

मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा ३ जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ ।

यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने १०२ जना घाइतेको उपचार भइरहेको र  छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ ।

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छभने उपचाररत २ जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।

मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ । काठमाडौँ उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।