काठमाडौं, भदौ २५ :

आगजनी र तोडफोडपछि डिल्लीबजार कारागारबाट भागेका सबै कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका कैदीहरूमध्ये आधाजसोलाई अहिले सुन्धारा कारागारमा सार्ने तयारी भइरहेको छ।

झोला बोकेर हूलका हूल भागेका कैदीहरूलाई पुनः डिल्लीबजार कारागारमा ल्याइएको थियो। त्यहाँबाट सेनाको निगरानीमा प्रहरीका सवारी साधनमार्फत सुन्धारा कारागारतर्फ सारिने भएको हो।

तर, करिब ६०–७० जना कैदी भने अझै सडकमै उभिएर प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन्। उनीहरूले हामी सेनाको आदेश मात्र मान्छौं भन्दै प्रहरीप्रति अवज्ञा जनाउँदै कारागारभित्र जान मानेका छैनन्।

स्थिति तनावपूर्ण रहे पनि सेनाको नियन्त्रणमा रहेका सबै कैदीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ। त्यहाँ ठूलो संख्यामा सेना र प्रहरी परिचालित छन्।