
प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गरेकी छन्।
सोमबार चार नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषद्लाई ८ सदस्यीय बनाएकी छन्। उनले आफ्नो मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने योजना अघि सारेकी छन्। जसअनुसार अब तीन मन्त्री नियुक्त गर्न बाँकी छ ।
यसैबीच, मन्त्रीहरूको वरीयताक्रम पनि सार्वजनिक भएको छ। प्रधानमन्त्रीपछिको पहिलो वरीयतामा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल रहेका छन्। दोस्रो वरीयतामा ऊर्जा मन्त्री कुलमान घिसिङ, तेस्रो वरीयतामा गृहमन्त्री ओमप्रकाश अर्याल छन्।
नयाँ नियुक्त मन्त्रीहरूमध्ये उद्योग मन्त्रालयको जिम्मेवारी पाएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा चौथो वरीयतामा छन्।
त्यसपछिका वरीयता क्रमशः महावीर पुन (शिक्षामन्त्री), डा. मदनकुमार परियार (कृषिमन्त्री) र जगदीश खरेल (सञ्चारमन्त्री) रहेका छन्। प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको यो अन्तरिम मन्त्रिपरिषद् संविधान कार्यान्वयन र आगामी निर्वाचनसम्मका लागि जिम्मेवार रहेको बताइएको छ।